तिमि जन्मदा
तिम्री आमा
प्रसव पीडाले छट्पटिदा
बाहिर चुरोट सँगालो
बनाउदै कुरे
तिम्रो च्याँ सुन्न….

बिरामी पर्यौ
हनहनति
पानि पट्टि फेर्दै
अनिदो रात
कति कुरे-कुरे

स्कुल गयौ
बसस्टपमा कुरे
घर आयौ
होमवर्क गरुन्जेल
खाना कुरे

कलेज गयौ
उमेरको मादसंगै
रातीराती
मतेरै सहि
तिमि घर नफिरुञ्जेल
सुत्नलाई कुरे

पढन
घर टाढा गयौ
तिम्रो खबर ल्याउने
हुलाकी कुरे
तिमि छुट्टी आउने
दिन र पल कुरे

एक दिन बिदेसियौ
तिम्रो फोन कुरे
स्काइप कुरे
भाइबर कुरे

आफु थालिदा अस्पताल
लगिदिने
कोहि आफन्तजन कुरे
अस्पतालमा डाक्टर कुरे
थोरै मिठोमसिनो वचन कुरे

ओहो !
जीवनभर कुरिरहे
मैले सासलाई कुरे कि
सासले मलाई?
आज मेरो सासले
कुरेन मलाइ
म भएँ एक्लो
सासबिहिन
सजिवबाट
म निर्जिव भएँ

यतिखेर
अस्पताल शैयाबाट
म मोरच्यारी घर्रामा पुगेको छु
सास गएसंगै चिसिएको
मेरो शरीर थप चिस्सिएको

शवगृहको
ओसिलो शैयामा

बाहिर तिम्री आमा
कुरिरहेकी छिन एकैसाथ
मेरो शवलाई

तिम्रो आगमनलाइ !

लेखक: किरणकृष्ण श्रेष्ठ