म के जानूँ
तिमीले मलाई माया लायौ ?
तर यो पक्कै हो
तिमीले मलाई सिकायौ
हाँस्न सिकायौ
बाँच्न सिकायौ
पग्लिएर मनसँग
मन गाँस्न सिकायौ ।

तिमीले मलाई सिकायौ –
धेरै धेरै सिकायौ
बिहानी घामको कलिलो झुल्को
हिमालमा ठोक्किंदा
रोमांचक सौन्दर्यको जुन मोहकता
प्रतिबिम्बित हुन्छ
तिम्रो मुस्कानमा उदाएको घामद्वारा तिमीले
हिमालको घामभन्दा पनि बढी
मलाई रोमांचक बन्न उक्सायौ ।
परिस्थितिसंग घुलमिल हुन मात्र हैन
स्वार्थको चक्रव्यूहबाट उम्कन
मलाई बाटो देखायौ ।

हाँसेर हाँसेको हुन्न
न रोएर रोएको हुन्छ
तिमीले सिकाएकैले
किन भनूँ मायालु म
तिमीले मलाई माया लायौ ?
बरु यो सत्य हो
संसारसंग मलाई
तिमी सम्झेरै,
माया लाउन सिकायौ ।

लेखक: बसन्त चौधरी