• २०७७ जेठ ७ (हिजो) बिहान ९:१८ बजे एकजना व्यक्ति मेरो घर आएर आफ्नो एन्सेल नम्बरमा खल्ती डिजिटल वालेट मार्फत रु १०० रिचार्ज (टप अप) गराएर जानु भयो।
  • उहाँ साझ ६:१० बजे आफ्नो मोबाइलमा पर्याप्त ब्यालेन्स नआएको गुनासो गर्दै मेरो घर आउनुभयो।
  • मैले उहाँको मोबाइलको ब्यालेन्स चेक गरेँ, मोबाइलमा ३१ रुपैयाँ मात्र ब्यालेन्स थियो। उहाँले रिचार्ज गरेपछि कसैलाई फोन/ म्यासेज नगरेको, डाटाको प्रयोग नगरेको र पहिलेको लोन (सापटी) पनि तिर्न बाँकि नरहेको जानकारी गराउनु भयो।
  • पैसा कहाँ काट्यो भन्ने बिस्तृत बुझ्न मैले उहाँको नम्बर मेरो मोबाइलमा रहेको एनसेल एपमा लग इन गरेर हेर्दा मलाइ थाहा भयो कि एन्सेलले उहाँको जानकारी र सहमति बिना नै विभिन्न अनावस्यक सेवाको नाममा पैसा काटेको रहेछ | उहाँले साधारण बार फोन चलाउने र त्यस्तो कुनै सेवा आफुले सूचारु नगरेको भन्ने कुरा बताउनु भयो। त्यस पश्चात मैले उहाँकै फोनबाट एन्सेल ग्राहक सेवा नम्बर ९००५ मा सम्पर्क गर्ने प्रयास गरेँ तर प्रयास सफल भएन। त्यसपछि मैले उहाँलाई यसबारे बुझाएर घर पठाएँ।
  • त्यसपछि मैले यो विषयमा एन्सेल सँग कुरा गर्न एन्सेलको फेसबुकमा म्यासेज गर्ने प्रयास गरेँ तर फेरी प्रयास असफल भयो किनभने केहि महिना अगि मैले एन्सेललाइ सरकारलाई तिर्नु पर्ने करको विषयमा धेरै म्यासेज गरेको कारण मलाइ एन्सेलले कालो सुचीमा राखेको रहेछ।
  • त्यस पश्चात मैले यो घटना बारे सानो लेख लेखेर मेरो एकजना मेण्टर दाजुलाई फेसबुकमा म्यासेज गरेँ। उहाँले यस्तो घटनाबारे खुल्ला बहस गर्नुपर्ने जनाउँदै यो कुरालाई २००७ सालमा स्थापित, एक लाख सात हजार बढि सदस्य रहेको फेसबुक ग्रुप Entrepreneurs For Nepal मा पोस्ट गर्न सुझाउनु भयो। त्यहि अनुसार मैले साँझको ०७:५५ बजे उक्त ग्रुपमा पोस्ट गरेँ। उक्त पोस्टमा धेरै व्यक्तिहरुले आफुहरुले पनि यस्तो समस्या भोगेको र केहिले आफुले बारम्बार एन्सेललाइ सम्पर्क गरेर पैसा फिर्ता समेत पाएको कुरा बताउनुभयो। धेरैले आफुहरुले एन्सेलको यहि लुटतन्त्रको कारण एन्सेल चलाउन छाडेको बताउनुभयो भने केहिले भने एन्सेलको गुणस्तरीय नेटवर्कको कारण यो प्रयोग गरिरहेको बताउनुभयो।
  • यत्तिकैमा रातको ९:१६ बजे एकजना अपचिरित व्यक्तिले मलाइ फेसबुकमा म्यासेज गर्नुभयो र आफू एन्सेलको कर्मचारी भएको र मैले गरेको यो पोस्टको बारेमा आफुलाई जिज्ञासा लागेको भन्दै आफ्नो सहकर्मीलाइ यो समस्याबारे बुझ्न पठाउने जनाउँदै मसँग उक्त व्यक्तिको फोन नम्बर माग्नु भयो। मैले उहाँलाई यो समस्यालाई सम्बोधन गर्नुहुन अनुरोध गर्दै आवश्यक विवरण प्रदान गरेँ।
  • उक्त पोस्टमा प्रतिक्रिया आउने क्रम चलिरहेको थियो, यत्तिकैमा आज (जेठ ८) दिउसो ०३:०३ बजे मलाई एन्सेलको आधिकारिक फेसबुक पेज मार्फत, मैले गरेको उक्त पोस्टमा एन्सेलको ध्यानाकर्षण भएको र उक्त समस्याको समाधान गरी, सम्बन्धित व्यक्तिलाई समेत जानकारी गराइएको भनेर म्यासेज आयो। म्यासेजमा मैले एन्सेल र एन्सेलको ग्राहक प्रति देखाएको चिन्ताको सम्मान गर्दै अब देखि केहि समस्या परेमा सिधै एन्सेललाइ मेल गर्न समेत आग्रह गरिएको छ।
  • उहाँको समस्याको समाधान भयो भन्ने सुनेपछि मैले फेरी एन्सेल एपमा विवरण चेक गरेँ। विभिन्न समयमा यस्ता धेरै सेवाको नाममा काटिएको रकमबाट उहाँको नम्बरमा रु ५२०.८८ (पाँच सय बीस रुपैयाँ अठासी पैसा) एन्सेलले फिर्ता गरेको पाएँं।
  • यसबारे उक्त फेसबुक पोस्टमा अपडेट दिएँ, मेण्टर दाजुलाई धन्यवाद दिएँ, अनि यो पोस्ट लेखेँ।

पुनश्च: प्राइभेसिको सम्मान गर्दै मैले उहाँको नम्बरलाइ मेरो एन्सेल एपबाट लगआउट गरेको छु।

लेखक: बुटवल निवासि सागर पाैडेल