जिन्दगीका हरेक तिता पलहरुले केही राम्रो ज्ञान बोकेर आएका हुन्छन । म सम्झिन्छु त्यो दिन जब म आफु मेडिकल इन्ट्रान्सको तयारी गर्दै थिए । परिक्षा नजिकिदै गर्दा केही छुट्टै दबाब महशुस भइरहेको थियो । त्यतिकैमा एकदिन मलाई घरबाट फोन आयो दिदि बिरामी भएर गाह्रोे भएको र बिर्तामोडको मनमोहन देखि (घोपा) वि.पि कोइराला स्वस्थ्य शिविर लग्नुपरेको जानकारी गराउनु भयो ।
यो खबरले म भित्र डर पैदा हुन थाल्यो, कारण दिदिले सानोतिनो कुरा भाइले तनाव नलिओस भन्ने सोचेले सितिमिति भन्नु हुदैन्थ्यो । तर उक्त खबरले मेरो मनमा डरले झन ठुलो डेरा जमायो। त्यही दिन म गाडी चढेर घोपा पुग्दा इमर्जेन्सी वार्डमा सिकिस्त अवस्थामा दिदिलाइ देख्दा मन भक्कानियो । दिदिको चेकजाचबाट थाहा भयो दिदिलाइ डेङ्गु भएको रहेछ । त्यस समय ज्वरो, पखाला र बान्ता एकैपटक हुँदा म आत्तिएको थिए , रात भर दिदिको खुट्टालाई सिरानी बनाएर सुत्दा घरिघरि आत्तिएर झल्यास्स बिउझिएका ती पलहरु सम्झिदा अझै मेरो शरीर सिरिन्ङ्ग हुन्छ ।

बिस्तारै दिदिको रगतमा प्लेटलेट्सको कमि भएको रिपोर्ट आयो त्यसैले दिदिलाइ आकस्मिक रगतको आवश्यकता पर्यो । रगत समूह मिलेतापनी मेरो तौल नपुगेर मैले रगत दिन नमिलेकाले रगत खोज्नुपर्ने भयो। म हरेक ब्लड बैंक, रेडक्रस धाउन थाले । तर दुखको कुरा मैले कतै एक पिन्ट रगत पाउन सकिन । त्यो दिन मैले एक मुठी रगतलाई लाखौंमा किन्न तयार थिए तर रगत पाउन सकेको थिइन । वार्डमा दिदिको अवस्था गम्भीर हुँदै थियो, डाक्टरले रगत मागिरहेछन तर खासै कतै कसैसँग चिनजान नभएको म आफ्नोलाई गुमाउने डर र असह्यताले गलेर निसब्द थिए ।
म आत्तिदै फेसबुक खोलेर त्यसमार्फत हरेक व्यक्ती र साथिहरुलाइ भन्न थाले , त्यतिकैमा हेमन्त भण्डारी सरले एकजना डोनर पठाउनुभयो। सुर्य दाइ, अनि उहाँको माध्यमबाट खोज्दा ब्लडको ग्रुप मिलेको डोनर भेटियो र त्यो रगतले दिदिको जीवन बचाउन सफल भयो । जिबन एक्लो दिदिको थियो तर प्राण सम्पुर्ण परिवारको । त्यतिबेला सहयोग गरिदिनुहुने हेमन्त सर, सुर्य दाइ , रक्तदाताहरु मेरो परिवारको लागि भगवान बनिदिनु भयो जसले एउटा सिङ्गो परिवारलाई जोगाइदिनु भयो।

Blood for Nepal logo

तब मैले महशुस गरे कि अब म पनि सचेत हुनु जरुरी छ । चिकित्सा विषयमा लाग्ने सपना देखेको म कसैको घाउको मलम बन्न जरुरी छ । यस घटना पश्चात रगतको विकल्प रगत हो जो रक्तदाता बाहेक अरुबाट सम्भब हुन सक्दैन भन्ने कुराको बोध भयो । आज मलाई पर्यो, भोलि कसैलाई पर्न सक्छ र यो कुरा मन्न गर्दै र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने अठोट लिएर म ब्लड फर नेपाल मा आबद्ध हुन पुगे । ब्लड फर नेपालमा पहिलो पटक मलाई रगत व्यवस्थापन कसरी गरिन्छ र यसमा काम कसरी गरिन्छ भन्नेकुराहरु सिक्ने मौका पाए ।
त्यहाँ आएर थाहा पाएँ ब्लड फर नेपाल लियो क्लव अफ मातृभूमि को मेघा प्रोजेक्ट रहेछ । जहाँबाट रगत व्यवस्थापन गरीदो रहेछ । दैनिक औसत रुपमा ५ देखि १० वटासम्म केसहरु आउने रहेछन् । ब्लड फर नेपाललाई सरोज कुमार महतो ज्युले २०१८ जुलाई २१ बाट सुरु गरेर आज सम्म आइपुग्दा देशका विभिन्न क्षेत्रमा क्षेत्रिय टीम बनाएर काम भइरहेको छ । सुनसरी, सिराहा, धनुषा, चितवन, रूपन्देही,दाङ लगाएत देशका विभिन्न ठाउँमा आज सक्रिय रूपमा रगत व्यवस्थापन गरिरहेको छ । आज सम्म आइपुग्दा अधिकारीक रुपमा ११,००० भन्दा बढी रगतका केशहरु व्यवस्थापन गरिसकेको छ । रात दिन हरेक समय ब्लड फर नेपालका सम्पुर्ण टिम रगत ब्वस्थापनको लागि नीरन्तर लागीराख्नु भएको छ ।

ब्लड फर नेपालको हाल सम्म १५० जति सक्रिय स्वयंसेवक देश भरि रहेको छ । देशको हरेक ठाउँमा आवश्यक परेको रगत व्यवस्थापनमा सक्रिय भुमिका खेलेरहेकोछ। यहि वर्ष २,२०० रगत प्याकेट देशको विभिन्न ठाउँमा रक्तादान कार्यक्रम गराई संकलन गरेकोछ। उत्प्रेरणा कार्यक्रम देखि लिएर रगतसँग सम्बन्धि अन्य कार्यक्रम गराउँदै आएको छ ।
अरु पनि यस्ता थुप्रै संस्थाहरु छन जसले यस्तो काम गरिरहनु भएको छ । यो आफैमा ठूलो कुरा हो । कसैको जीवन बचाउँदा त्यो आनन्द कसैको मुहारमा खुसी देख्दाको त्यो आनन्द, झरेका आँसु पुछ्दै गर्दाको त्यो खुसी सायदै कहिले नमिल्ला ।
रगत शब्द सुनिरहँदा हामीलाई सामान्य लाग्न सक्ला तर रगतको अभाव जुनै समयमा नि पर्न सक्छ । चाहे त्यो दुर्घटनाको अवस्था होस् या डेलिभरीको अवस्था, चाहे त्यो सर्जरी होस् या कुनै रोग , रगत जुनै समय, जसलाई नि आवश्यक पर्न सक्छ । अस्पताल प्रवेश गर्ने ७ जना मध्ये औशत १ जनालाई रगत आवश्यक पर्नेगर्दछ ।
संसारमा विज्ञान र प्रविधिले यति ठूलो छलाङ्ग मारीसक्दा पनि रगतको अभाव एक रक्तदाताको रगत बाहेक अरु विकल्प निकाल्न सकेको छैन । यदि हाम्रो जनसंख्याको २ प्रतिक्षतले मात्र पनि रक्तदान गर्ने हो भने रगतको अभाव हुनेथिएन । रक्तदान गर्दा हामी स्वयमलाई धेरै फाइदा छन, हामी एक जनाले दिएको रगतले कम्तीमा ३ जनाको जीवन बचाउन सकिन्छ । हरेक ३/३ महिनामा खेर जाने रगत दिएर हामीले कसैको जीवन बचाएर कसैको परिवारमा खुसी छर्न सक्छौ भने किन नगर्ने ?
साथै हामीले अन्य थुप्रै तरिका अपनाउन सक्छौ जसले गर्दा हामी रगतको अभावबाट बाँच्न सकिन्छ । जस्तो की हामीले मोबाइलमा सेभ गर्ने नम्बर सहित ब्लड ग्रुप राख्ने, मेसेन्जरमा नीकनेममा ब्लड ग्रुप सहित नाम नुम्बर राख्ने । साथै आफ्नो ब्लड ग्रुप अनुसारको मेसेन्जर ग्रुपमा रहने, एउटा सानो डायरी बनाउन सक्छौ जहाँ आफ्ना आफन्तको ब्लड ग्रुप सहित मोबाइल नम्बर राख्न सक्छौ । यदि घरमा कोही प्रेगनेन्ट हुनुहुन्छ भने डेलिभरीको अगाडी नै उहाँको रगत समूह मिल्ने डोनर स्ट्याण्डबाई अवस्थामा राख्ने ।
यस्ता साना साना कुराहरूमा थोरै पनि हामीले ध्यान दिने हो भने हामीले आइपर्ने समस्या र हुन सक्ने सम्भावित क्षतिबाट बाँच्न सक्छौ । आउनु होस हामी सबै मिलेर रगत व्यवस्थापनमा एक जुटौं । आज अरूलाई, त भोलि आफूलाई ।

लेखक: आयुस बुढाथोकि
ब्लड फर नेपाल उपत्यका टिम सक्रिय सदस्य

#bloodfornepal #bfn #wesharewecare #togetherwecan #fourthanniversary