आज मेरो जन्मदिन
स्वप्न झैं छचल्कियो
आज एक स्वप्न-दिन
जन्म झैं झझल्कियो ।

त्यसै त्यसै उक्लिँदै
उमेरका खुड़किला,
कसरी यहाँ पुगें म
हिसाब गर्दैछु
कति बनें, कहाँ चुकें म
गुन्दै गुन्दै छु ।
मच्चिँदै मच्चिँदै,
यात्राको रोटेपिङ्गमा
नयाँ दिन,
पुरानो सम्झना बनेर सल्कियो ।

हरक्षण मलाई,
फूलको सुवास छ
मेरो सानो वस्तीमा,
स्नेहको आकाश छ ।
र त,
मेरो जीवन
अँध्यारोमा पनि,
चन्द्र जस्तै टल्कियो ।

हो,
जीवन भित्र
निकै कालो रात छ
पतझड, खडेरी
आँसुको वर्षात छ
तर त्यहीं वर पर
मलाई झस्काउँदै हाँस्ने
हरियो पात छ ।
उज्यालो तिर,
मलाई तान्दै तान्दै गर्ने
मायाको हात छ
त्यसैले होला,
बाँचूँ बाँचूँको आकर्षणले
मेरो सारा जीवन पल्कियो ।

लेखक: वसन्त चाैधरि